रौतहटको देवाही गोनाही नगरपालिका–४ स्थित देवाही टोलमा वडा कार्यालयको प्रशासनिक भवन तथा स्वास्थ्य चौकी परिसरको वाल र शौचालय निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ।
नगर प्रमुख प्रेमलाल साह र उप–प्रमुख परनिया देवी पटेलले संयुक्त रूपमा भूमि पूजन गरी निर्माण कार्यको शिलान्यास गर्नुभएको हो। कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष रामप्रवेश प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
शिलान्यास कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष संजय पटेलसहित विभिन्न वडाका निर्वाचित जनप्रतिनिधि, स्थानीय भद्रभलाद्मी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर प्रमुख साहले विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर नगरलाई व्यवस्थित र सेवा–सुविधायुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो भने उप–प्रमुख पटेलले स्वास्थ्य र प्रशासनिक पूर्वाधार सुदृढीकरणले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो।