नागरिक बचाउ महाअभियानसँग उच्चस्तरीय वार्ता हुने, प्रधानमन्त्री–महाअभियान नेतृत्वबीच भेट तय

tejnewskhabar.com

काठमाडौँ, ०७ गते — नागरिक बचाउ महाअभियानले उठाएका विभिन्न मागहरूको गम्भीर अध्ययन तथा दीर्घकालीन समाधानका लागि सरकार र महाअभियानबीच उच्चस्तरीय वार्ता हुने भएको छ। यसका लागि प्रधानमन्त्री र महाअभियान नेतृत्वबीच भेटवार्ताको समयसमेत तोकिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नागरिक बचाउ महाअभियानलाई सम्बोधन गर्दै जारी गरेको पत्रअनुसार, महाअभियानले सरकारसमक्ष प्रस्तुत गरेका मागहरूमाथि निरन्तर छलफल र संवाद भइरहेको जनाइएको छ। पत्रमा उल्लेख गरिएअनुसार केही मागहरू नीतिगत, कानुनी तथा संवैधानिक जटिलतासँग जोडिएकाले ती विषयमा सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय र विज्ञहरूसँग थप परामर्श तथा विस्तृत अध्ययन आवश्यक देखिएको छ।

सरकार वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै पत्रमा महाअभियानसँगको संवादलाई निरन्तरता दिँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ। सोही क्रममा आगामी दिनमा प्रधानमन्त्री र नागरिक बचाउ महाअभियानका अध्यक्षबीच प्रत्यक्ष उच्चस्तरीय भेटवार्ता गर्ने निर्णय भएको जानकारी दिइएको छ।

प्रधानमन्त्री कार्यालयका मुख्य सल्लाहकारद्वारा हस्ताक्षरित उक्त पत्र नागरिक बचाउ महाअभियानका संयोजकलाई सम्बोधन गरिएको हो। उच्चस्तरीय वार्ताबाट महाअभियानले उठाएका मागहरूमा सहमति र समाधानको बाटो खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया