कांग्रेसभित्र तीन कुर्सीको टकराव, एकतामाथि गम्भीर प्रश्न

tejnewskhabar.com

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व, टिकट वितरण र आगामी निर्वाचन रणनीतिलाई लिएर आन्तरिक विवाद चर्किँदै गएको छ। पार्टीभित्र देखिएको तीन धारको शक्ति–संघर्षले कांग्रेसको एकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

पार्टीका शीर्ष नेताहरूबीच ‘एकताको सन्देश’ सार्वजनिक रूपमा दिइँदै आए पनि भित्री छलफलहरू भने सहमति भन्दा टकरावतर्फ उन्मुख देखिएका छन्। पछिल्लो समय ४० प्रतिशत सिट सुरक्षित गर्ने माग, टिकट वितरण प्रक्रियामा हस्ताक्षर अधिकारको विवाद र नेतृत्व अघि सार्ने विषयले कांग्रेसभित्रको असन्तुष्टि सतहमा आएको छ।

स्रोतका अनुसार आगामी निर्वाचनमा संगठनलाई मजबुत बनाउने नाममा एक पक्षले निश्चित प्रतिशत सिट सुनिश्चित गर्नुपर्ने अडान लिएको छ भने अर्काे पक्ष टिकट वितरणलाई सामूहिक निर्णय प्रणालीमा लैजानुपर्ने मागमा अडिग छ। यसै क्रममा टिकट वितरणमा पार्टी सभापतिको हस्ताक्षर अधिकार हटाउनुपर्ने प्रस्तावले विवादलाई थप चर्काएको बताइन्छ।

यस्तै, एक प्रभावशाली युवा नेतालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा जानुपर्ने प्रस्तावले पनि पार्टीभित्र फरक–फरक धारणा जन्माएको छ। कतिपय नेताहरू यसलाई परिवर्तन र पुस्तान्तरणको संकेतका रूपमा लिइरहेका छन् भने केहीले यसलाई हतारो र असमयको निर्णय भएको टिप्पणी गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस अहिले एकताको भाषण र शक्ति संघर्षको व्यवहारबीच अल्झिएको अवस्थामा छ। समयमै सहमति जुटाउन नसकिए पार्टीको संगठनात्मक शक्ति कमजोर हुने र चुनावी प्रतिस्पर्धामा असर पर्ने चेतावनी उनीहरूको छ।

अबको चुनौती कांग्रेस नेतृत्वका लागि आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्दै साझा रणनीतिमा सहमति जुटाउनु रहेको छ। अन्यथा, ‘एकता’ केवल नारामा सीमित हुने र व्यवहारमा गहिरो विभाजन देखिने जोखिम बढ्दै गएको विश्लेषकहरूको ठम्याइ छ।



प्रतिक्रिया