यमुनामाई गाउँपालिकाका कर्मचारी श्री नारायण झासँग ३ दिनभित्र स्पष्टीकरण माग

tejnewskhabar.com

रौतहट १३ गते पुस । यमुनामाई गाउँपालिका, रौतहटले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ विपरीत गतिविधि गरेको आरोपमा कर्मचारी श्रीनारायण झासँग लिखित स्पष्टीकरण माग गरेको छ।

गाउँपालिकाको कार्यालयले जारी गरेको पत्रअनुसार झाले सरकारी कामकाजसँग सम्बन्धित विषयहरू अनुमति बिना सामाजिक सञ्जालमा प्रकाशन गरेको, कार्यालयमा नियमित उपस्थित नभएको तथा कर्मचारी आचारसंहिता विपरीत कार्य गरेको उल्लेख गरिएको छ।

गाउँपालिकाले ऐनको दफा ७५ विपरीत सरकारी सामग्री तथा सूचनाहरू सार्वजनिक गरेको, बिना जानकारी तथा स्वीकृति लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको आरोप लगाएको छ। यसले सेवा अनुशासन र प्रशासनिक मर्यादामा असर परेको ठहर गरिएको छ।

पत्रमा भनिएको छ, उक्त विषयमा पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्ट कारणसहितको लिखित स्पष्टीकरण पेश नगरे कानुनबमोजिम विभागीय कारबाही अघि बढाइने छ।

उक्त पत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेस प्रदेश, जिल्ला प्रशासन कार्यालय रौतहट तथा कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटमा समेत पठाइएको छ।

गाउँपालिकाले कर्मचारीहरूलाई कानुनी व्यवस्था, आचारसंहिता र प्रशासनिक अनुशासनको पूर्ण पालना गर्न पुनः सचेत गराएको छ।

प्रतिक्रिया