काठमाडौँ ०६ गते — जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका अगुवा मिराज ढुङ्गानाले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनमा उत्रिन लागेको जानकारी दिएका हुन्।
ढुङ्गानाले आन्दोलनको पहिलो चरणअन्तर्गत भोलि बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलामा उपस्थित हुन सबैलाई आह्वान गरेका छन्। उनले जेनजी आन्दोलनलाई धोका दिइएको आरोप लगाउँदै वर्तमान राजनीतिक अवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको बताए।
पत्रकार सम्मेलनमा ढुङ्गानाले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै अब सर्वपक्षीय सरकार गठन नै मुलुकको निकास भएको जिकिर गरे। उनले आन्दोलन शान्तिपूर्ण हुने र देशभर चरणबद्ध रूपमा कार्यक्रम विस्तार गरिने पनि जानकारी दिए।
उनका अनुसार जनताको आवाजलाई दबाउने प्रयास भए कडा प्रतिवाद गरिनेछ, तर आन्दोलन सधैं अहिंसात्मक र लोकतान्त्रिक विधिबाट अघि बढाइनेछ।
६ पुस २०८२, आईतबार ०५:५७ मा प्रकाशित