निर्वाचन आयोगको मान्यता स्वागतयोग्य, गगन थापाको नेतृत्वमा कांग्रेस एकढिक्का : नितिश कुमार गुप्ता

tejnewskhabar.com

काठमाडौँ ३ गते । नेपाली कांग्रेस मधेस प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापति बनेको विषयमा निर्वाचन आयोगले दिएको आधिकारिक मान्यतालाई स्वागतयोग्य र सही निर्णय भएको बताउनुभएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस निर्णयले पार्टीभित्रको अन्योल अन्त्य भएको र अब नेपाली कांग्रेस नयाँ उत्साहका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।


गुप्ताले यो निर्णयलाई नेपाली कांग्रेसभित्र पुस्तान्तरणको ऐतिहासिक सुरुवातको रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार अब युवा पुस्ताले देशको राजनीतिक नेतृत्व पाउने वातावरण बनेको छ र यसले पार्टीलाई थप मजबुत बनाउनेछ। “नेपाली कांग्रेस अब फुटेको छैन, हामी सबै कांग्रेसी एकजुट छौँ,” उहाँले जोड दिनुभयो।


मधेस प्रदेशमा नेपाली कांग्रेसप्रति जनलहर आउनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताउँदै गुप्ताले पार्टी संगठनलाई थप सुदृढ बनाइने जानकारी दिनुभयो। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशका सम्पूर्ण जिल्लामा प्रचार–प्रसार अभियानलाई व्यापक बनाइने उहाँले बताउनुभयो।


त्यसैगरी, राष्ट्रिय सभाको निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन पार्टी सम्पूर्ण शक्ति प्रयोग गरेर लाग्ने गुप्ताको भनाइ छ। पार्टी नेतृत्व, कार्यकर्ता र समर्थकबीच समन्वय गरेर कांग्रेसलाई निर्वाचनमा सफल बनाइने उहाँले स्पष्ट पार्नुभयो।


नेपाली कांग्रेस अब युवा नेतृत्व, एकता र लोकतान्त्रिक मूल्यको आधारमा अघि बढ्दै मधेस प्रदेशमा आफ्नो जनआधार अझ फराकिलो बनाउने दिशामा केन्द्रित रहेको प्रचार–प्रसार विभाग प्रमुख गुप्ताले बताउनुभयो।

प्रतिक्रिया