मधेसका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम केन्द्रमा पठाइने कांग्रेस मधेस संसदीय बोर्ड बैठकले सिफारिस प्रक्रिया टुंग्यायो

tejnewskhabar.com

जनकपुरधाम, ०६ पुस — नेपाली कांग्रेस मधेस प्रदेश संसदीय बोर्डका प्रमुख तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्री माननीय कृष्णप्रसाद यादवज्यूको सभापतित्वमा बसेको बैठकले मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट प्राप्त उम्मेदवारहरूको नाम पार्टी केन्द्रमा पठाउने निर्णय गरेको छ।

बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट आएका उम्मेदवार सिफारिसहरूलाई एकीकृत गरी केन्द्रमा पठाउने स्पष्ट निर्णय गरेको हो। साथै, राष्ट्रिय सभातर्फ तथा समानुपातिक प्रणाली अन्तर्गतका उम्मेदवारहरूको सिफारिस प्रक्रिया पनि अघि बढाउने निर्णय गरिएको छ।

मधेस प्रदेश कांग्रेसले जिल्ला कार्यसमिति तथा क्षेत्रीय कार्यसमितिबाट उम्मेदवार सिफारिससम्बन्धी निर्णय गरी केन्द्रमा पठाउँदा सम्बन्धित परिपत्रको छायाँप्रति संलग्न गर्नुपर्ने व्यवस्था मिलाइएको स्पष्ट पारेको छ। यसले उम्मेदवार सिफारिस प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, मधेस प्रदेश संसदीय बोर्डले पार्टी केन्द्रको नीति तथा निर्देशनअनुसार पार्टी नीतिप्रति प्रतिबद्ध, योग्य र सक्षम उम्मेदवारहरूको नाम छनोट गरी नेपाली कांग्रेस मधेस प्रदेश संसदीय बोर्डको रायसहित केन्द्रमा पठाउने निर्णय गरेको छ।

उक्त निर्णयबारे जानकारी दिँदै मधेस प्रदेश कांग्रेसका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले बैठकबाट आवश्यक निर्णयहरू गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया