नयाँ दिल्ली, साउन ४ — भारतको राजधानी नयाँ दिल्लीस्थित संसद भवन नजिक सोमबार ‘कक्रोच जनता पार्टी (CJP)’ का हजारौँ समर्थकहरूले प्रदर्शन गरेका छन्। संसदको मनसुन अधिवेशन चलिरहेका बेला आयोजित ‘चलो संसद’ मार्चमार्फत प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा व्यापक सुधार तथा युवासम्बन्धी विभिन्न माग अघि सारेका हुन्।
प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली प्रहरीले संसद क्षेत्र र आसपासका संवेदनशील स्थानहरूमा कडा सुरक्षा व्यवस्था मिलाएको थियो। विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको, केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको तथा भीड नियन्त्रणका लागि अश्रुग्यास प्रयोग गरिएको समाचार सार्वजनिक भएका छन्।
यद्यपि, दिल्ली प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप अस्वीकार गर्दै प्रदर्शनलाई नियन्त्रणमा लिन आवश्यक सुरक्षा उपाय मात्र अपनाइएको जनाएको छ।
प्रदर्शनका कारण संसद क्षेत्र वरपरको आवागमन केही समय प्रभावित भएको थियो भने सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन्।