काठमाडौँ ३० गते । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपतकालीन उपचार तालिमलाई सुदृढ गर्ने उद्देश्यले Laerdal Global Health, नर्वेबाट नौवटा Emergency Care Learning Lab (ECLL) र दुईवटा Laerdal ALS Baby Trainer किट प्राप्त गरेको छ। माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यूको समुपस्थितिमा आयोजित कार्यक्रममा ती किटहरू औपचारिक रूपमा हस्तान्तरण गरिएका हुन्।
प्राप्त किटहरू राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र तथा सातै प्रदेशका स्वास्थ्य तालिम केन्द्रहरूमा वितरण गरिने मन्त्रालयले जनाएको छ। सो अवसरमा मन्त्री गौतमले सहयोगका लागि Laerdal Global Health र नर्वे सरकारप्रति धन्यवाद व्यक्त गर्दै, यी किटहरूको प्रयोगबाट Basic Emergency Care तथा अस्पतालपूर्व उपचारसम्बन्धी तालिम प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो। यसबाट स्वास्थ्यकर्मीहरूको सीप अभिवृद्धि हुनुका साथै देशभर आपतकालीन उपचार प्रणालीको गुणस्तर र पहुँचमा उल्लेखनीय सुधार आउने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपालका लागि नर्वेका महामहिम राजदूत Dagny Mjøs, मन्त्रालयका उच्च अधिकारीहरू, विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधि, Laerdal Global Health का प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।