काठमाडौं १९ गते । नेपाली कांग्रेसका केन्द्रीय अनुशासन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले पार्टी महाधिवेशनसम्बन्धी विषयमा पार्टी केन्द्रीय समितिले गरेका औपचारिक निर्णयबाहेक अन्य कुनै पनि निर्णय मान्य नहुने स्पष्ट पारेका छन्।
नेता ढुंगानाले केन्द्रीय समितिको निर्णयविपरीत गएर पार्टी विधान उल्लंघन गर्ने जो कोही भए पनि अनुशासनको कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्। उनले पार्टीभित्र अनुशासन कायम राख्न कुनै पनि प्रकारको दबाब वा व्यक्तिविशेषलाई छुट नदिइने बताएका हुन्।
विशेष महाधिवेशनको नाममा हल बुक गर्ने लगायतका गतिविधि भएको भन्ने चर्चा आए पनि त्यससम्बन्धी औपचारिक उजुरी हालसम्म केन्द्रीय अनुशासन समितिमा नआएकाले कारबाही प्रक्रिया अघि नबढाइएको उनले जानकारी दिए। उजुरी परेपछि आवश्यक छानबिन गरी विधानअनुसार कारबाही गरिने ढुंगानाको भनाइ छ।
उनको भनाइलाई पछिल्लो समय पार्टीभित्र देखिएको गतिविधि र नेताहरूको भूमिकासँग जोडेर अर्थ्याइएको छ, जसका कारण कांग्रेस नेता गगन थापामाथि कारबाहीको तयारी भइरहेको अड्कलहरू सुरु भएका छन्।