जनकपुरधाम, ०६ गते — आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै नेपाली कांग्रेस मधेस प्रदेशको तयारी तीव्र बनेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेस मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा आज नेपाली कांग्रेस प्रदेश कांग्रेस संसदीय समितिको महत्वपूर्ण बैठक बस्दैछ।
बैठक नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय, जनकपुरधाममा आयोजना हुन लागेको हो। बैठकमा पार्टी संगठन सुदृढीकरण, निर्वाचन रणनीति निर्धारण तथा उम्मेदवार छनोट प्रक्रियालाई अन्तिम रूप दिने विषयमा विस्तृत छलफल हुने नेपाली कांग्रेसले जनाएको छ।
निर्वाचन केन्द्रित तयारीस्वरूप मधेस प्रदेशका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्राप्त उम्मेदवार सिफारिसहरू आजै केन्द्रीय कार्यालयमा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। क्षेत्रीय र जिल्ला तहका पार्टी कमिटीबाट आएका नामहरूलाई पार्टी विधान, समावेशी प्रतिनिधित्व र राजनीतिक सन्तुलनको आधारमा केन्द्रमा सिफारिस गर्न लागिएको हो।
नेपाली कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिँदै केन्द्रीय निर्देशन र स्थानीय तहबाट प्राप्त सुझावलाई आधार मानेर उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइएको बताए। उनका अनुसार संगठन मजबुत बनाउने, जनअपेक्षा सम्बोधन गर्ने र निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने उद्देश्यसहित उम्मेदवारहरूको नाम टुंग्याएर केन्द्रमा पठाइँदैछ।
महामन्त्री श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँगै राष्ट्रिय सभा तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नामसमेत सिफारिस गरिने छ।
उनले मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्ता, जनप्रतिनिधि र शुभेच्छुकहरूको सुझावलाई गम्भीरतापूर्वक समेटिएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, समावेशी प्रतिनिधित्व र क्षेत्रीय सन्तुलनलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गर्ने कांग्रेसको प्रतिबद्धता दोहोर्याए।
कांग्रेस मधेस प्रदेश संसदीय समितिको सक्रियतासँगै निर्वाचन लक्षित गतिविधि थप तीव्र बनेका छन्। पार्टीले मधेस प्रदेशमा सशक्त, संगठित र प्रभावकारी उपस्थितिका साथ निर्वाचनमा होमिने तयारी गरेको स्पष्ट देखिएको छ।