रौतहट २१ गते । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपालले रौतहट जिल्लामा ७० जना विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेको छ। ईशनाथ नगरपालिका–४ रामनगर (चमटोल) क्षेत्रमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल रौतहटका प्रमुख रामहरि अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
जिल्ला प्रशासन कार्यालय गौर, रौतहटको सहयोग, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटको समन्वय तथा वि.ओ.पि. रामपुर खापको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। अति चिसो मौसम र शीतलहरबाट प्रभावित स्थानीय ७० विपन्न परिवारलाई ७० थान न्यानो कम्बल वितरण गरिएको जनाइएको छ।
न्यानो कम्बल वितरण कार्य वि.ओ.पि. रामपुर खाप रौतहटका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालको कमाण्डमा ९ जना सशस्त्र प्रहरी टोलीद्वारा सम्पन्न गरिएको थियो। कार्यक्रममा ईशनाथ नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल राम र वडा नं. ४ का वडा सदस्य गगनदेव रामको रोहवर रहेको थियो।
कार्यक्रममा रामपुर टोलका अपाङ्ग नागरिक तथा खाप टोलका दलित समुदायका नागरिकलाई प्राथमिकताका साथ न्यानो कम्बल वितरण गरिएको थियो। चिसो मौसममा नागरिकप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै सशस्त्र प्रहरी बल नेपाल सधैँ जनताको साथमा रहेको सन्देश यस कार्यक्रमले दिएको स्थानीयवासीको भनाइ छ।
विपद् व्यवस्थापन, राहत तथा सहयोगमा अग्रपंक्तिमा रहँदै आएको सशस्त्र प्रहरी बल नेपालको यस मानवीय कार्यप्रति स्थानीय बासिन्दाले खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रम सम्पन्न भएको टोलमा उत्साहपूर्ण माहोल देखिएको थियो।