जनकपुरधाम, २३ गते । मधेशका अभिभावक नेता तथा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिलाई लक्षित गरी काठमाडौँमा कांग्रेसका केही युवाहरूले गरेको होहल्ला र दुर्व्यवहारको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ।
मंगलबार साँझ जनकपुरधामका भानुचौक, पिडारीचौक, जिरोमाइल र महावीर चौक लगायतका मुख्य स्थानहरूमा एकैसाथ युवाहरू सडकमा उत्रिँदै निधिको समर्थनमा नाराबाजी गरेका हुन्। प्रदर्शनकारीहरूले विमलेन्द्र निधिमाथि भएको व्यवहारलाई निन्दनीय, अलोकतान्त्रिक र पार्टीको आन्तरिक मर्यादाविपरीत भएको भन्दै आपत्ति जनाएका छन्।
उनीहरूले मधेशको आवाज उठाउँदै आएका नेतामाथि भएको दुर्व्यवहारले सिंगो मधेशी समुदाय अपमानित भएको धारणा व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न पार्टी नेतृत्वसँग माग गरेका छन्। साथै, दोषीमाथि कारबाही गर्नसमेत उनीहरूको माग रहेको छ।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।