वीरगञ्ज, २२ पुस । पर्साको सदरमुकाम वीरगञ्जमा विभिन्न धार्मिक समुदायले गरेका प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि आक्रमण तथा दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अनुसार मिति २०८२ पुस २१ गते वीरगञ्जमा जारी प्रदर्शनको दृश्य खिचिरहेका बेला भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि अज्ञात व्यक्तिहरूले मोबाइल खोस्दै आक्रमण गरेका हुन्। घटनापछि पत्रकार साह केही समय असहज अवस्थामा परेको बताइएको छ।
महासंघले समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिने आक्रमण, धम्की तथा अवरोध प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमाथिको गम्भीर हनन भएको ठहर गरेको छ। यस्ता स्वतन्त्र प्रेसविरोधी गतिविधि पूर्णतः अस्वीकार्य रहेको महासंघको भनाइ छ।
घटनाप्रति घोर भर्त्सना गर्दै महासंघले पत्रकार साहमाथि आक्रमणमा संलग्न दोषी पहिचान गरी तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गरेको छ। साथै, यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रदर्शन तथा सार्वजनिक गतिविधिका क्रममा सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।
महासंघले धार्मिक तथा संवेदनशील विषयसँग सम्बन्धित समाचार संकलन, प्रकाशन र प्रसारण गर्दा संयमता, संवेदनशीलता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सबै सञ्चारकर्मीहरूलाई समेत अपिल गरेको छ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’द्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारमाथि हुने कुनै पनि किसिमको हिंसा, दुव्र्यवहार र दबाब लोकतन्त्र र स्वतन्त्र प्रेसका लागि घातक हुने उल्लेख गरिएको छ।