सर्लाही जिल्लाको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेससँग सम्बद्ध व्यक्तिमाथि जानलेवा आक्रमण भएको छ।
सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहका भतिजा, राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेश कुमार सिंह र बलरा–४ निवासी दिनेश झाका छोरा पंकज कुमार झाले आज मिति २०८२/११/२४ गते दिउँसो करिब १२:१० बजे आक्रमण गरेको आरोप लगाइएको छ।
उक्त घटना बलरा–४ स्थित राजेश सिंहको घरको पूर्वपट्टि तथा सुनिल सिंहको घरको उत्तरतर्फको बाटोमा भएको बताइएको छ। सो क्रममा डा. कम्लेश्वर सिन्हा आफ्नो छोरा र नातिसहित स्कार्पियो गाडीमा बसिरहेको अवस्थामा उनीहरूमाथि आक्रमण गरिएको थियो। आक्रमणपछि घाइते भएका डा. कम्लेश्वर सिन्हा हाल अस्पतालमा उपचाररत रहेका छन्।
यस घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रशासनसँग आग्रह गरिएको छ।
नेपाली कांग्रेस मधेस प्रदेशले यस घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। कांग्रेसका प्रचार प्रमुख नितेश कुमार गुप्ताले यस्ता गतिविधि अस्वीकार्य रहेको बताउँदै दोषीमाथि कडा कारबाही हुनुपर्ने र शान्ति–सुरक्षा कायम गर्न प्रशासनले तत्काल ध्यान दिनुपर्ने बताउनुभएको छ। साथै यस्ता गतिविधि जारी रहे कांग्रेस चुपचाप नबस्ने चेतावनी पनि दिनुभएको छ।