रौतहट, पुस २५ — वर्तमान जटिल तथा विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन समयसापेक्ष नीति, नेतृत्व र संगठनात्मक विषयमा गम्भीर छलफल तथा निर्णायक निर्णय अपरिहार्य भइसकेको ठहर गर्दै नेपाली कांग्रेस रौतहटले विशेष महाधिवेशनमा सक्रिय सहभागिताको आह्वान गरेको छ।
नेपाली कांग्रेस रौतहट कार्यसमितिद्वारा आज जारी प्रेस विज्ञप्तिमा पार्टी पुनर्निर्माण, संगठन सुदृढीकरण तथा नयाँ ऊर्जासहित पार्टीलाई अघि बढाउने उद्देश्यले देशभरका करिब ५४.५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार केन्द्रीय समितिले यही पुस २७ र २८ गते काठमाडौंमा ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आह्वान गर्नु सकारात्मक र स्वागतयोग्य कदम भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा नेपाली कांग्रेसको विधान २०७६ (संशोधन सहित) को धारा १७(२) बमोजिम आह्वान गरिएको उक्त विशेष महाधिवेशनमा मधेश प्रदेशका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूले अनिवार्य रूपमा उपस्थित भई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।
त्यसैगरी, विशेष महाधिवेशनको औपचारिक उद्घाटन समारोह पुस २७ गते बिहान ११ बजे काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने तय भएकाले नेपाली कांग्रेस रौतहटका आजीवन सदस्य, विभिन्न तहका जिम्मेवार नेता–कार्यकर्ता, सदस्य तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा तथा अनुरोध गरिएको छ।
प्रेस विज्ञप्तिमा सचिव रामचन्द्र गिरी तथा उप–सभापति द्वय धीरेन्द्र कुमार सिंह र रामलोचन प्रसाद कलवारले हस्ताक्षर गरेका छन्।