काठमाडौँ, २२ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री, सप्तरी निवासी उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
मंगलबार जसपा नेपालको केन्द्रीय पार्टी कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पूर्व संविधानसभा सदस्यसमेत रहेका यादवलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले यादवको अनुभव र योगदानले जसपा नेपाललाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले मधेस, लोकतन्त्र र सामाजिक न्यायको एजेन्डामा एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
नवप्रवेशी नेता यादवले देशको वर्तमान राजनीतिक अवस्था, मधेसका मुद्दा र जनताको अधिकारको संरक्षणका लागि जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएको बताउँदै पार्टीको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गरे।
उनको पार्टी प्रवेशलाई सप्तरीसहित मधेस प्रदेशको राजनीतिक वृत्तमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।