नेपाली प्रवेश निषेध हुँदाहुँदै किङ क्यासिनोमा खुलेआम कार्यक्रम, २० लाख हारिएको घटना सार्वजनिक

tejnewskhabar.com

पर्सा १८ गते : वीरगंज महानगरपालिका–आदर्शनगरस्थित किङ क्यासिनोमा नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको विशेष मनोरञ्जन कार्यक्रममा नेपाली नागरिकको खुलेआम सहभागिता देखिएको छ। बाराका एक नेपाली युवाले क्यासिनोमा जुवा खेल्दा करिब २० लाख रुपैयाँ हारिएको घटना सार्वजनिक भएपछि क्यासिनो व्यवस्थापन र प्रहरी–प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।

डिसेम्बर ३१ को राति आयोजित कार्यक्रममा भारत, बिहारकी चर्चित अभिनेत्री अमरपाली दुबे सहित आधा दर्जनभन्दा बढी महिला डान्सरले प्रस्तुति दिएका थिए। राति १० बजेदेखि सुरु भएको कार्यक्रममा मदिरा सेवन गर्ने ग्राहकहरूको ठूलो भीड देखिएको प्रत्यक्षदर्शीले बताएका छन्। राति १२ बजे केक काट्दै नयाँ वर्षको स्वागत गरिएको र त्यसपछि कार्यक्रम अझ उत्तेजक बनेको उल्लेख गरिएको छ।

क्यासिनोभित्र बारा, पर्सा, वीरगञ्ज, कलैया, गौर र सिमरासम्मका नेपाली युवाहरू तथा पाको उमेरका नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको बताइएको छ। नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध गर्ने कानुनी व्यवस्था हुँदाहुँदै यस्तो गतिविधि कसरी सम्भव भयो भन्ने प्रश्न उठेको छ।

स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले क्यासिनोका कारण नेपाली युवाहरू आर्थिक तथा सामाजिक रूपमा बर्बाद हुँदै गएको भन्दै कडाइका साथ अनुगमन, दोषीमाथि कानुनी कारबाही र तत्काल सरकारी हस्तक्षेपको माग गरेका छन्।

प्रतिक्रिया