तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वले नेपाली समाजमा सद्भाव र एकता सुदृढ बनाओस् : प्रचण्ड

tejnewskhabar.com

काठमाडौँ, पुस १५ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदायले मनाउने ल्होसार पर्व तथा दुरा समुदायले मनाउने म्हैप्रु नकुमा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशमार्फत उहाँले यी पर्वहरूले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्दै नेपाली समाजको सांस्कृतिक विविधता र पहिचानलाई थप सुदृढ बनाउने उल्लेख गर्नुभएको छ। उहाँले संस्कृति र संस्कारलाई समाजको पहिचानका आधारस्तम्भका रूपमा वर्णन गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव र सहअस्तित्व नेपाली समाजको सुन्दर विशेषता भएको बताउनुभयो।

संयोजक दाहालले तमु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने ल्होसार तथा दुरा समुदायको गौरवपूर्ण म्हैप्रु नकुमा पर्वले नेपालको बहुसांस्कृतिक पहिचानलाई जीवन्त बनाउँदै आएको उल्लेख गर्नुभयो। उहाँले बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र साँचो राष्ट्रिय एकता सुदृढ हुने धारणा व्यक्त गर्नुभयो।

उहाँले परिवर्तनका हरेक आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका समुदाय तथा उनीहरूको संस्कृति, परम्परा र पहिचानलाई गणतन्त्रको छहारीमा संरक्षण, सम्मान र प्रवर्द्धन गर्दै अघि बढाउनु आजको आवश्यकता भएको बताउनुभयो।

अन्त्यमा, संयोजक दाहालले ल्होसार तथा म्हैप्रु नकुमा पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै, यी पर्वहरूले सम्पूर्ण नेपालीहरूबीच पारस्परिक सद्भाव, सहिष्णुता र भाइचारा अझ मजबुत बनाउने कामना गर्नुभएको छ।

प्रतिक्रिया