सिन्धुली, ७ पुस — सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ देउराली डाँडास्थित रेस्मा खाजा घरकी सञ्चालक तारा भुजेलमाथि कुटपिट तथा दुर्ववहार भएको छ।
घटना मंगलबार राति करिब १० बजेको समयमा भएको हो। सामान बोक्ने ट्रकका चार जना चालकसहितको समूहले भुजेलमाथि कुटपिट तथा दुर्व्यवहार गरी घटनास्थलबाट फरार भएको बताइएको छ।
पीडित भुजेलका अनुसार खाजा घर अगाडि अव्यवस्थित रूपमा सवारी साधन पार्क गरिएको विषयमा गाडी मिलाएर राख्न आग्रह गर्दा सवारी चालकहरूले नमानेपछि विवाद सुरु भएको थियो। सोही विवाद चर्किँदै जाँदा चालकसहितको समूहले हातपात तथा दुर्व्यवहार गरेको उनको भनाइ छ।
घटनापछि भुजेलले आफू असुरक्षित महसुस गरिरहेको बताउँदै दोषीमाथि कानुनी कारबाहीको माग गर्नुभएको छ।
उक्त घटनाप्रति स्थानीयवासीहरूले सार्वजनिक स्थलमा व्यवसाय गर्दै आएकी महिलामाथि भएको यस्तो दुर्व्यवहारले महिला सुरक्षा प्रति गम्भीर चुनौती थपिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।