काठमाडौं, माघ १५। हुकुमी राणा शासनको विरुद्धमा आवाज उठाएको र नेपाली जनतालाई प्रजातन्त्रका लागि सचेत तथा संगठित गराएको आरोपमा वि.सं. १९९७ साल माघ १५ गते अमर शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो। काठमाडौंको विष्णुमती नदी किनारस्थित शोभा भगवती क्षेत्रमा उहाँहरूलाई गोली हानी मृत्युदण्ड कार्यान्वयन गरिएको थियो।
इतिहासकारहरूका अनुसार, त्यसबेला शासक पक्षले मृत्युदण्ड नदिई कायल गराउने उद्देश्यले एकअर्काले देख्ने गरी घुँडाभन्दा तल गोली हानेका थिए। तर ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएको साहसी अडान देखाएपछि अन्ततः उहाँहरूलाई ज्यान जाने गरी गोली प्रहार गरिएको थियो।
बैतडीमा जन्मिनुभएका दशरथ चन्द भारतमा महात्मा गान्धीले सुरु गर्नुभएको सत्याग्रह आन्दोलनमा सक्रिय रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले भारत र नेपाल दुवै स्थानबाट राणा शासनविरुद्ध चेतना फैलाउने काम गर्नुभएको थियो।
त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेजमा अध्ययनरत रहँदै राणा शासन विरोधी आन्दोलनमा होमिनुभएको थियो। इन्द्रचोकमा सम्पन्न नेपालको पहिलो राजनीतिक सभामा उहाँले स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा निर्भीक भाषण गर्नुभएको थियो, जसले जनस्तरमा ठूलो प्रभाव पारेको थियो।
अमर शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको बलिदानले नेपाली जनतालाई प्रजातन्त्रको मार्गतर्फ अघि बढ्न प्रेरणा दिएको थियो। उहाँहरूको त्याग र साहस आज पनि लोकतन्त्र, स्वतन्त्रता र नागरिक अधिकारका लागि संघर्ष गर्ने सबैका लागि प्रेरणाको स्रोत बनेको छ।