विशेष महाधिवेशन तयारीबारे बुझ्न कांग्रेस नेताहरू भृकुटीमण्डपमा

tejnewskhabar.com

काठमाडौं २६ गते — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय नेता चन्द्र भण्डारी तथा निवर्तमान सांसद सुनिल शर्माले शुक्रबार विशेष महाधिवेशन आयोजना गर्ने भनिएको स्थल भृकुटीमण्डपको निरीक्षण गरेका छन्।

उनीहरू महाधिवेशनको सम्भावित तयारी, स्थलको व्यवस्थापन अवस्था, सहभागिताको क्षमता, सुरक्षा तथा पूर्वाधारको अवस्थाबारे जानकारी लिन निरीक्षणमा पुगेका हुन्। निरीक्षणका क्रममा नेताहरूले महाधिवेशनलाई व्यवस्थित, मर्यादित र सफल बनाउन आवश्यक तयारीबारे छलफलसमेत गरेका थिए।

कांग्रेसभित्र विशेष महाधिवेशनको आवश्यकता र औचित्यबारे बहस चलिरहेका बेला शीर्ष तहका नेताहरू स्वयं स्थल निरीक्षणमा पुग्नुले पार्टीभित्रको गतिविधि थप सक्रिय बन्दै गएको संकेत दिएको छ। नेताहरूले पार्टीको संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र मजबुत बनाउने तथा वर्तमान राजनीतिक परिस्थितिबारे विशेष महाधिवेशनमा गम्भीर छलफल हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

भृकुटीमण्डपलाई विशेष महाधिवेशन स्थलका रूपमा प्रयोग गर्न सकिने सम्भावना र त्यसका लागि आवश्यक व्यवस्थापनबारे थप निर्णय पार्टीको औपचारिक बैठकबाट हुने जनाइएको छ।

प्रतिक्रिया