सर्लाही, ०७ पुस — सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१४ सहित चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी तथा नष्ट गर्ने कार्य सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी लगायत मातहतका प्रहरी कार्यालयबाट ९८ जना तथा सशस्त्र प्रहरी सुरक्षा बेस हरिवन सर्लाहीबाट ३० जना गरी जम्मा १२८ जनाको संयुक्त टोलीले सोमबार दिउँसो करिब १२:१० बजे अवैध गाँजा खेतीविरुद्ध अभियान सञ्चालन गरेको हो।
प्रहरीका अनुसार लालबन्दी नगरपालिका–१४ स्थित प्रताटोल, हात्ती सुडे, १५ बिगहा, ९ बिगहा, मत्स्य दोभान शिर तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा करिब ३५ बिगाहा क्षेत्रफलमा लगाइएको अनुमानित १ लाख ८० हजार गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ।
अवैध लागूऔषध उत्पादन तथा कारोबार नियन्त्रण गर्न नियमित रूपमा यस्ता अभियान सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।