राजपुर नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई न्यानो सिरक/कम्बल वितरण, नगर प्रमुख डा. राजिक आलमद्वारा कार्यक्रम शुभारम्भ

tejnewskhabar.com

रौतहट २१ गते ।

रौतहट जिल्लाको राजपुर नगरपालिकाले बढ्दो चिसो र शीतलहरको प्रकोपबाट प्रभावित नागरिकहरूलाई लक्षित गर्दै जेष्ठ नागरिक तथा विपन्न वर्गका लागि न्यानो सिरक/कम्बल वितरण अभियान सुरु गरेको छ।

नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमको औपचारिक शुभारम्भ नगर प्रमुख डा. राजिक आलमले आज गर्नुभएको हो। पछिल्ला केही दिनदेखि तराई–मधेश क्षेत्रमा मौसममा आएको अचानक परिवर्तनका कारण अत्यधिक चिसो बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेषगरी जेष्ठ नागरिक, अशक्त तथा विपन्न वर्गका नागरिकहरू बढी जोखिममा परेकाले उनीहरूलाई चिसोबाट जोगाउने उद्देश्यले राहत कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ।

कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख आलमले चिसोका कारण कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मानवीय भावना र सामाजिक उत्तरदायित्वका आधारमा यो अभियान सुरु गरिएको बताउनुभयो। उहाँले नगरपालिकाभित्रका जोखिममा रहेका सबै वर्गलाई चरणबद्ध रूपमा राहत सामग्री उपलब्ध गराइने र आवश्यक परे जाडो मौसमभर थप कार्यक्रमहरू समेत सञ्चालन गरिने जानकारी दिनुभयो।

कम्बल वितरणपछि लाभग्राही जेष्ठ नागरिकहरूले राहत महसुस गरेको प्रतिक्रिया दिएका छन्। स्थानीयवासीहरूले नगरपालिकाको यस पहललाई समयसापेक्ष र सराहनीय कदम भन्दै चिसोबाट जोगिन यसले महत्वपूर्ण सहयोग पुगेको बताएका छन्।

राजपुर नगरपालिकाले सामाजिक सुरक्षा, विपद् व्यवस्थापन तथा जनजीवन सहज बनाउने कार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा जनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



प्रतिक्रिया