काठमाडौँ, ०८ पुस — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच दुई दिनमै दोस्रो पटक भएको भेटवार्ता मध्यरातसम्म चलेको छ।
आइतबार भएको पहिलो भेटपछि सोमबार राति रास्वपाका पूर्वसांसद असिम शाहको निवासमा दुवै पक्षबीच पुनः लामो छलफल भएको थियो। स्रोतका अनुसार करिब तीन घन्टाभन्दा बढी चलेको वार्तापछि रवि लामिछाने र बालेन शाह मुस्कानसहित एउटै गाडीबाट बाहिरिँदै हात हल्लाएर सञ्चारकर्मीसँग विदा भएका थिए।
स्रोतका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, आगामी फागुन २१ गते तोकिएको आमनिर्वाचन तथा सम्भावित राजनीतिक सहकार्यका विषयमा गहन छलफल भएको थियो। छलफलका क्रममा रवि लामिछानेले आमनिर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्तावसहित चुनावी सहकार्यका लागि समर्थन गर्न आग्रह गरेको बुझिएको छ।
यद्यपि, भेटवार्ताबाट कुनै औपचारिक निर्णय सार्वजनिक गरिएको छैन। दुवै पक्षले यसलाई सामान्य राजनीतिक संवाद भने पनि, लगातारको भेटघाट र सार्वजनिक रूपमा देखिएको आत्मीयताले आगामी आमनिर्वाचनलाई केन्द्रमा राखेर नयाँ राजनीतिक समीकरण बन्ने सम्भावनालाई थप बल दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।