समुदाय–प्रहरी साझेदारीअन्तर्गत घरेलु तथा महिला हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

tejnewskhabar.com

सर्लाही, २०८२ पुस ०६ — “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय केशरगञ्ज, हजरिया तथा प्रहरी चौकी बाराउधोरण सर्लाहीले संयुक्त रूपमा घरेलु हिंसा, महिला हिंसा तथा अल्पसंख्यक समुदायसँग प्रहरीको भूमिका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूलाई घरेलु हिंसाका कानुनी प्रावधान, महिला हिंसाविरुद्धका उपाय, पीडितले अपनाउन सक्ने कानुनी प्रक्रिया तथा प्रहरी–समुदायबीचको सहकार्यको महत्वबारे जानकारी गराइएको थियो।

प्रहरी प्रतिनिधिहरूले हिंसामुक्त समाज निर्माणका लागि समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताउँदै हिंसा सहनुभन्दा तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरे। साथै अल्पसंख्यक समुदायसँग प्रहरीको सम्बन्ध अझ विश्वासिलो बनाउँदै सुरक्षा र न्यायको पहुँच सुनिश्चित गर्न समुदाय–प्रहरी साझेदारी प्रभावकारी माध्यम भएको उल्लेख गरियो।

कार्यक्रमले समाजमा विद्यमान हिंसाजन्य गतिविधि न्यूनीकरण गर्न तथा प्रहरी र समुदायबीच आपसी विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया