विशेष महाधिवेशनपछि कांग्रेस एकताबद्ध : ‘यो जय–पराजय होइन, विधि र विधानको विजय हो’ — सभापति गगन थापा

tejnewskhabar.com

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि पार्टीभित्र विधि, विधान र पद्धतिको स्पष्ट स्थापना भएको बताएका छन्। निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टीको विधानअनुसार निर्णय गरेको भन्दै उनले आयोगप्रति आभार प्रकट गरेका छन्।

सभापति थापाले जारी गरेको प्रेस विज्ञप्तिमा विशेष महाधिवेशन कुनै विवादको विषय नरहेको उल्लेख गर्दै यो निर्णय कांग्रेसका सदस्य तथा शुभेच्छुकहरूले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमानदार प्रयासको साझा प्रतिफल भएको बताएका छन्।

“नेपाली कांग्रेस कुनै एक नेताको चाहनाले होइन, आम सदस्यको चाहनाले चल्ने पार्टी हो,” विज्ञप्तिमा भनिएको छ, “आज कांग्रेस आफ्नो मूल जरा, मूल्य–मान्यता र आदर्शमा फर्किएको छ।”

थापाले विशेष महाधिवेशनमा सहभागी वा असहमत सबै नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र एकताबद्ध हुन आग्रह गरेका छन्। उनले यसलाई जय–पराजयको विषय नभई विधि र विधानको विजयका रूपमा बुझ्नुपर्ने बताएका छन्।

उनका अनुसार नेपाली कांग्रेस अब नवीन ऊर्जा, आत्मविश्वास र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको छ र सुधार (रिफर्म) को यात्रा सुरु भइसकेको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै उनले पार्टीलाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन्।

सभापति थापाले पार्टीका श्रद्धेय पूर्व सभापति शेरबहादुर देउवा लगायत विभिन्न तह र निकायमा रहेका नेताहरूले यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण साथ दिने विश्वास व्यक्त गरेका छन्।

“आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन,” उनले स्पष्ट पारेका छन्, “जिम्मेवारी फरक हुन सक्छन्, तर भुइँतहका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुनेछ।”

नेपाली कांग्रेस आम नेपाली जनताको सार्वजनिक पूँजी भएको उल्लेख गर्दै थापाले देशभित्र र बाहिर रहेका लाखौं शुभेच्छुकलाई कांग्रेस अब बदलिएको र अझ बदलिँदै जाने विश्वास दिलाएका छन्। उनका अनुसार कांग्रेसले विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै उपलब्धिलाई समयअनुसार संस्थागत गर्ने संकल्प लिएको छ।

विज्ञप्तिमा कांग्रेसले अब मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने तथा सत्ताका लागि अप्राकृतिक गठबन्धन गर्ने अभ्यासको अन्त्य गर्ने प्रतिबद्धता पनि जनाइएको छ। संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व कांग्रेसले लिने थापाको भनाइ छ।

अन्त्यमा सभापति थापाले सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका अग्रजप्रति सम्मान व्यक्त गरेका छन् र नवयुवा सहित सम्पूर्ण नेपालीलाई समुन्नत नेपाल निर्माणको यात्रामा सहभागी हुन अपील गरेका छन्।


प्रतिक्रिया