स्व. गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द देवकोटालाई

tejnewskhabar.com

वीरगञ्ज | माघ १ । स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार यसवर्ष अकोराबका वरिष्ठ उपाध्यक्ष तथा पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाद्वारा आयोजित पुरस्कार वितरण समारोहमा मधेस प्रदेशका कृषि तथा सहकारी मन्त्री श्याम पटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रमुख अतिथि पटेलले समारोहमा मन्तव्य व्यक्त गर्दै पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउन यस्ता पुरस्कारहरूले प्रेरणा दिने बताए। त्यस अवसरमा उनले देवकोटालाई पुरस्कार प्रदान गरेका हुन्।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै निष्पक्ष, जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषणमा पुर्‍याएको योगदानको कदरस्वरूप देवकोटालाई उक्त पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ।

समारोहमा वक्ताहरूले स्व. गोपाल गिरीले नेपाली पत्रकारितामा पुर्‍याएको योगदानको स्मरण गर्दै क्रियाशील पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको यस पुरस्कारले पत्रकारहरूलाई थप जिम्मेवार, मर्यादित र पेशागत रूपमा सशक्त बनाउने विश्वास व्यक्त गरे।

पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै गोविन्द देवकोटाले यो सम्मानले आफूलाई अझ जिम्मेवार र सत्यनिष्ठ पत्रकारिता गर्न प्रेरणा मिलेको बताए। उनले स्व. गोपाल गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाप्रति आभार व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



प्रतिक्रिया