काठमाडौँ १६ गते। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको नयाँ मूल्य समायोजन गरेको छ। निगमले भारतीय आयल कर्पोरेसनबाट ३१ डिसेम्बर २०२५ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।
निगम सञ्चालक समितिको मिति २०८२/०९/१६ को निर्णयअनुसार २०८२/०९/१७ गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ तथा आन्तरिक हवाई इन्धन प्रतिलिटर ६ रुपैयाँ घटाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत पेट्रोल १६५ रुपैयाँ, डिजेल/मट्टीतेल १५३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। दोस्रो वर्गमा पेट्रोल १६६ र डिजेल/मट्टीतेल १५४ रुपैयाँ तथा तेस्रो वर्गमा पेट्रोल १६७ र डिजेल/मट्टीतेल १५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौँ, पोखरा र भैरहवाका लागि फरक–फरक दरमा निर्धारण गरिएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले स्पष्ट पारेको छ।
निगमका अनुसार उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य समायोजन गरिएको हो भने आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार आवश्यक समायोजन गरिनेछ।