सिरहा, १९ गते । सिरहाको लहान नगरपालिका–१६ स्थित आरिदमार टोलमा गएराति जंगली हात्तीको हुल प्रवेश गरी केही घरमा तोडफोड मच्चाएको छ । अचानक गाउँ पस्दै हात्तीले घरका पर्खाल, ढोका र भण्डारण सामग्रीमा क्षति पुर्याएपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।
स्थानीयका अनुसार रातिको समयमा हात्तीको हुल बस्तीभित्र छिरेर अन्धाधुन्ध रूपमा घर आसपास घुमेपछि मानिसहरू घरभित्रै थुनिन बाध्य भएका थिए । मानवीय क्षति भने हालसम्म नभएको भए पनि घरभित्र राखिएका अन्नपात, भाँडाकुँडा तथा संरचनामा क्षति पुगेको बताइएको छ ।
हात्तीको हुल अहिले पनि गाउँ वरपरकै जंगल तथा खेतबारी क्षेत्रमा घुमिरहेको स्थानीयको भनाइ छ । जसका कारण बिहानैदेखि आवतजावतमा समेत जोखिम बढेको छ भने बालबालिका, वृद्धवृद्धा तथा महिलाहरू विशेष रूपमा भयभीत भएका छन् ।
स्थानीयवासीले हात्तीको नियमित आवतजावतका कारण यसअघि पनि समस्या हुँदै आएको उल्लेख गर्दै यसपटक ठूलो क्षति हुन सक्ने भन्दै तत्काल नियन्त्रणको माग गरेका छन् । हात्ती खेदाउन प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई जानकारी गराइसकेको र आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको छ ।
प्रहरी तथा वन कार्यालयको टोली घटनास्थलतर्फ जाने तयारीमा रहेको बताइएको छ । स्थानीयले हात्तीलाई सुरक्षित रूपमा जंगलतर्फ फर्काउने दीर्घकालीन समाधान खोज्नसमेत सरकारसँग माग गरेका छन् ।