मोरङ ०९ गते — नेकपा एमाले मोरङले सरकारको विरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ।
नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पर्शुराम बस्नेतको अगुवाइमा र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पढाएर बुझाएको हो।
र्यालीको अगुवाइ गरेका बस्नेतले असंवैधानिक सरकार र असंवैधानिक प्रतिशोधी कदमविरुद्ध नेकपा एमाले सशक्त रूपमा उभिने बताए। उनले सरकारका गलत कदमको विरोध, संविधानको रक्षा, संसद् पुनर्स्थापना तथा भदौ २३ र २४ गते भएको हिंसामा संलग्न अपराधीलाई यथाशीघ्र कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए।
बस्नेतले आफ्नो नेतृत्वमा नेकपा एमाले मोरङ र त्यससँग सम्बद्ध सबै जनसंगठनको सहभागितामा सरकारविरुद्ध खबरदारी गरिएको पनि स्पष्ट पारे।
९ पुस २०८२, बुधबार ०९:२८ मा प्रकाशित