पर्सा, २२ पुस । हाल देखिएको हिन्दु–मुस्लिम समुदायबीचको तनावपूर्ण अवस्थाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा मंगलबार बिहान आकस्मिक बैठक सम्पन्न भएको छ।
मिति २०८२/०९/२२ गते बिहान ९ बजे प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना, सञ्चारकर्मी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा आपसी सद्भाव, सहिष्णुता, धार्मिक सहअस्तित्व, कानूनको पालना तथा शान्ति–सुरक्षा कायम राख्ने विषयमा गम्भीर छलफल गरिएको थियो। सहभागी सबै पक्षले समाजमा शान्ति कायम राख्न जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्दै संयमता अपनाउन आम नागरिकलाई अपिल गरिएको छ। साथै, उत्पन्न विवादहरूलाई संवाद र सामूहिक प्रयासमार्फत शान्तिपूर्ण रूपमा समाधान गर्न सकिने विषयमा समेत छलफल जारी रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासनले शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि उक्साहटपूर्ण गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।