सप्तरी, ०६ पुस — जिल्ला सप्तरीस्थित बलानबिहुल गाउँपालिकामा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन गाउँपालिका अध्यक्ष दयानन्द गोइतसहित पाँच जना व्यक्ति तथा ओम गणेशाय कन्स्ट्रक्सन प्रा. लि. विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०७८ साल पुस २९ गते प्रकाशित आशयपत्रअनुसारको ठेक्का नं. BBRM/NCB/NCW-16-78/79 अन्तर्गत रहेको नमुना विद्यालय भवन निर्माण कार्य मा व्यापक अनियमितता भएको ठहर गर्दै मिति २०८२ पुस ०६ गते आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार उक्त ठेक्कामा सहभागी ओम गणेशाय कन्स्ट्रक्सन प्रा. लि., डाक्नेश्वरी–०९, सप्तरी ले नक्कली अनुभव प्रमाणपत्र (फेक सर्टिफिकेट) पेश गरेको र त्यसलाई आधार मानेर गाउँपालिकाका सम्बन्धित कर्मचारीहरूसँग मिलेमतो गरी गलत ढंगले बोलपत्र मूल्याङ्कन गरिएको पाइएको छ।
अनुसन्धानबाट प्रतिस्पर्धी बोलपत्रदातालाई अयोग्य ठहर गर्दै नियमविपरीत रूपमा ठेक्का स्वीकृत गरिएको, जसका कारण राज्यलाई आर्थिक क्षति पुगेको आयोगको निष्कर्ष छ। यस प्रकरणमा संलग्न तत्कालीन जनप्रतिनिधि तथा कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको अभियोग लगाइएको छ।
अख्तियारले दोषी ठहर भएमा भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना तथा बिगो असुल उपर गरिने मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।