स्थानीय स्तरमा मिडिया र पत्रकार प्रवर्द्धनबारे नेपाल पत्रकार महासंघ महोत्तरीको अन्तरक्रिया सम्पन्न

tejnewskhabar.com

महोत्तरी — नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको आयोजनामा ‘स्थानीय स्तरमा मिडिया र पत्रकार प्रवर्द्धनका सम्भावना’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गाैशालामा सम्पन्न भएको छ।

कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। अन्तरक्रियाका क्रममा पत्रकारहरूले रिपोर्टिङ गर्दा भोग्नुपरेका समस्या, चुनौती तथा अनुभवहरू खुला रूपमा साझा गरेका थिए। विशेषगरी ग्राउन्ड रिपोर्टिङका क्रममा आउने धम्की, दबाब र असहज परिस्थितिबारे गम्भीर छलफल भएको थियो।

कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासले कुनै पनि पत्रकारले रिपोर्टिङका क्रममा धम्की वा समस्या भोगेमा तत्काल महासंघका अध्यक्ष, सचिव वा कोषाध्यक्षलाई जानकारी गराए तुरुन्तै आवश्यक पहल गरिने स्पष्ट पारे।

महासंघको सदस्यता सम्बन्धी प्रश्नमा अध्यक्ष दासले महासंघ सबै पत्रकारको साझा संस्था भएको उल्लेख गर्दै योग्य र सक्रिय पत्रकारले सदस्यता पाउनुपर्ने बताए। साथै आफू पत्रकार हुँ कि होइन भन्ने आत्ममूल्यांकन पनि आवश्यक रहेको उनको भनाइ थियो।

जिल्लामा कार्यरत केही पत्रकार सदस्यताबाट वञ्चित हुँदा गैर–पत्रकारले सदस्यता पाएको भन्ने प्रश्नमा अध्यक्ष दासले जीई खबरका पत्रकार नरेन्द्र महतोको विषयमा छानबिन समिति बनाएर माथिल्लो निकायमा पठाइएको तर कहाँबाट नाम हटाइयो भन्ने जानकारी आफूलाई नभएको बताए। भविष्यमा यस्ता कमजोरी नदोहोरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

त्यस्तै, जिल्लामा पाँच दर्जनभन्दा बढी सदस्यता प्राप्त पत्रकार भए पनि अपेक्षित रूपमा समाचार नआएको भन्ने जिज्ञासामा उनले अबदेखि समाचार नलेख्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने पत्रकारको सदस्यता खारेज गरिने जानकारी दिए।

महासंघको सदस्यता लिन आवश्यक प्रक्रिया र मापदण्डबारे सचिव राम नारायण महतोले जानकारी गराएका थिए। कोष आम्दानी न्यून भए पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता महासंघले जनाएको छ।

जिल्लामा उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने विषयमा उठेको प्रश्नमा कोषाध्यक्ष राजीव रायले सकारात्मक धारणा व्यक्त गरे। साथै सञ्चारमाध्यमहरूले समयमै विज्ञापन नपाउँदा सञ्चालनमा कठिनाइ भइरहेको विषयमा पनि सहभागीहरूले ध्यानाकर्षण गराएका थिए।

कार्यक्रम नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा जीई खबरका पत्रकार नरेन्द्र महतो, पब्लि टुडेबाट रामबाबु यादव, सोनामाई एफएमका नागेन्द्र यादव, रुपान्तरण एफएमका धनवीर महतो, गाैशाला एफएमका सञ्चालक अजय साह, अजरुद्दिन, सहकर्मी लव कुमार ठाकुर, नेपाल प्रेसका इन्दल कुमार राउत, ग्यालेक्सी टेलिभिजनका जिल्ला समाचारदाता विष्णु गुप्ता, रेडियो जुनताराबाट निन्जन साह, भाग्यरेखा शर्मा, महोत्तरी सञ्चारका धमेन्द्र कुमार यादव, रञ्जन भण्डारीलगायत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।



प्रतिक्रिया