दाङ १५ गते पुस । दाङ जिल्लाको देउखुरीस्थित राजपुर गाउँपालिका वडा नं–३ भैरहवाकी २० वर्षीया रक्षाकुमारी यादव सरकारी विद्यालयको प्रधानाध्यापक बनेपछि स्थानीय समुदायमा चासो र प्रशंसाको विषय बनेको छ। अत्यन्त कम उमेरमै विद्यालयको नेतृत्व सम्हाल्न सफल भएकी रक्षाको उपलब्धिले उनका आफन्त, साथीभाइ मात्र होइन, सिंगो गाउँलाई नै अचम्मित बनाएको छ।
सानैदेखि पढाइमा अब्बल रहेकी रक्षाले मधेसी समुदायमा अझै पनि विद्यमान छोरीलाई सानैमा विवाह गरिदिने र पढाइबाट वञ्चित गर्ने प्रचलनलाई चुनौती दिएकी छन्। पारिवारिक सहयोगका कारण उनले पढाइ निरन्तरता दिइन्। उनका बुवा–आमा सामान्य खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आए पनि आर्थिक अभावबीच पनि रक्षाले पढाइ छाडिनन्।
घरको आर्थिक अवस्था कमजोर हुँदा रक्षासहित एक दाजु, एक भाइ र एक बहिनीको विद्यालय खर्च जुटाउन कठिनाइ थियो। तर उनले विद्यालय तहबाटै विभिन्न स्रोत व्यवस्थापन गर्दै कडा मेहनतका साथ अध्ययन पूरा गरिन्। त्यही मेहनतको परिणामस्वरूप उनी अहिले दाङकै बबई गाउँपालिका वडा नं–७ जलजलास्थित सरस्वती आधारभूत विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेकी छन्।
२० वर्षको उमेरमै विद्यालय प्रशासनको नेतृत्व सम्हाल्न सफल भएको भन्दै उनका आफन्त र साथीभाइले खुलेर प्रशंसा गरिरहेका छन्। अझ महत्वपूर्ण कुरा, गाउँमा सानैमा आफ्ना छोरीचेलीहरूको विवाह गराएका अभिभावकहरू समेत रक्षाको सफलताबाट प्रभावित भई पछुतो व्यक्त गर्न थालेका छन्।
अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारी वहन गर्दै अघि बढेकी रक्षाकुमारी यादवको यो उपलब्धि स्थानीय समुदायका लागि मात्र होइन, सम्पूर्ण समाजका लागि प्रेरणादायी बनेको छ। उनको लगनशीलता, दृढता र कार्यक्षमताको व्यापक प्रशंसा हुँदै आएको छ भने धेरैले उनलाई “युवा नेतृत्वको उत्कृष्ट उदाहरण”को रूपमा लिएका छन्।