दुर्लभ दृश्यले जगायो आशा : नारायणी किनारमा गैंडाको प्रजनन, संरक्षण प्रयासको सकारात्मक संकेत

tejnewskhabar.com

काठमाडौं २३ गते । विश्वमै दुर्लभ एक सिंगे गैंडाको संरक्षणमा नेपालले पछिल्ला वर्षहरूमा उदाहरणीय सफलता हासिल गर्दै आएको छ। सन् २०२१ मा सम्पन्न राष्ट्रिय गैंडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैंडा रहेका थिए भने देशभर कुल ७५२ गैंडाको संख्या अभिलेख गरिएको थियो।

नेपाल सरकारले सन् २०३० सम्म गैंडाको संख्या दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य लिएको छ। यस लक्ष्य प्राप्तिका लागि बासस्थान संरक्षण, चोरी–सिकारी नियन्त्रण, सामुदायिक सहभागिता र निकुञ्ज व्यवस्थापनजस्ता विविध प्रयासहरू सरकारीस्तरबाट अघि बढाइँदै आएका छन्।

तर पछिल्लो समय गैंडा मर्ने घटनाहरू बढ्दै जानु चुनौतीको विषय बनेको छ। प्राकृतिक कारण, आपसी संघर्ष, बाढी तथा रोगका कारण गैंडाको मृत्युदर बढेकाले लक्ष्य हासिल गर्न सहज बाटो भने देखिएको छैन।

यहीबीच, नारायणी नदी किनारमा विरलै देखिने गैंडाको एक महत्वपूर्ण दृश्य कैद भएको छ। एक भाले गैंडा, एक आमा गैंडा र उनको बच्चा नदी किनारमा घुमिरहेका बेला प्रकृतिको काखमै भाले र पोथी गैंडाबीच प्रजनन प्रक्रिया सम्पन्न भएको देखिएको हो। करिब दुई घण्टासम्म चलेको उक्त प्रजनन क्रियाका दुर्लभ तस्बिरहरू हाल सार्वजनिक भएका छन्।

यी तस्बिरहरू नेपालमा गैंडा संरक्षण तथा संख्या वृद्धिका लागि भइरहेका प्रयासहरू सफल दिशामा अघि बढिरहेको प्रमाणका रूपमा हेरिएको छ। संरक्षणकर्मीहरूका अनुसार यस्तो प्राकृतिक प्रजनन गतिविधिले गैंडा संख्या वृद्धि हुने आशालाई थप बलियो बनाएको छ।

उल्लेखनीय छ, नेपालमा सन् २०२१ पछि पुनः गैंडा गणना गरिएको छैन। पछिल्लो समय गैंडाको संख्या बढ्दो क्रममा रहेको संकेत देखिएकाले नयाँ गणना तत्काल गर्नुपर्ने माग संरक्षणकर्मी तथा सरोकारवालाहरूले उठाउँदै आएका छन्।



प्रतिक्रिया