काठमाडौँ, ०४ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अपाङ्गता अधिकार विज्ञ डा. बिरेन्द्रराज शर्मा पोखरेल अत्याधिक बहुमतका साथ केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको छ। देशभरका महाधिवेशन प्रतिनिधिहरूको व्यापक समर्थनसहित उहाँ केन्द्रीय नेतृत्वमा प्रवेश गर्नुभएको हो।
लामो समयदेखि अपाङ्गता अधिकार, समावेशी लोकतन्त्र र सामाजिक न्यायको क्षेत्रमा सक्रिय रहँदै आउनुभएका डा. पोखरेलको यो निर्वाचनलाई पार्टीभित्र समावेशी नेतृत्व सुदृढ गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उहाँले नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, अवसर र पहुँचलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।
महाधिवेशनका क्रममा प्रस्तुत गरिएको नेतृत्व चयन प्रक्रियामा डा. पोखरेलले स्पष्ट दृष्टिकोण, नीतिगत स्पष्टता र सामाजिक सरोकारका विषयमा दृढ प्रतिबद्धता प्रस्तुत गर्नुभएको बताइन्छ। यसै कारण पार्टी पंक्ति र प्रतिनिधिहरूबाट उल्लेखनीय समर्थन प्राप्त भएको नेताहरूको भनाइ छ।
नेकपा एमालेका नेताहरूका अनुसार डा. पोखरेलको केन्द्रीय समितिमा प्रवेशले पार्टीको नीति तथा कार्यक्रमलाई थप समावेशी, व्यवहारिक र समाजका सबै वर्गलाई समेट्ने दिशामा अघि बढाउन सहयोग पुग्नेछ। विशेषगरी अपाङ्गता भएका नागरिकहरूको हकहित, रोजगार, शिक्षा र सामाजिक सुरक्षा सम्बन्धी मुद्दाहरू पार्टीको प्राथमिक एजेन्डामा पर्ने विश्वास गरिएको छ।
डा. पोखरेलको विजयप्रति पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ताहरू तथा अपाङ्गता अधिकारसँग सम्बन्धित संघ–संस्थाहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।