सप्तरी ०७ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरी आजदेखि आफ्नो चुनावी अभियानको औपचारिक शुभारम्भ गर्नुभएको छ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष यादवले डाक्नेश्वरी नगरपालिका स्थित उक्त मन्दिरमा पूजाआजा गर्नुभएको हो। पूजाआजापश्चात उहाँले स्थानीय पालिकाका नेता, कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरूसँग भेंटघाट कार्यक्रमलाई तीव्रता दिनुभएको छ।
सप्तरीका चर्चित पत्रकार श्यामसुन्दर यादवका अनुसार मधेश जनविद्रोहका सर्वोच्च नेतासँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाउँदा स्थानीय जनता निकै उत्साहित देखिएका छन्।
चुनावी अभियान तथा मतदाता भेटघाटका क्रममा सप्तरी क्षेत्र नम्बर ३ का स्थानीय बासिन्दाहरूले सडक, शिक्षा, स्वास्थ्य र सिंचाइको दयनीय अवस्थाबारे अध्यक्ष यादवसमक्ष गुनासो राखेका थिए। जवाफमा अध्यक्ष यादवले क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै निश्चिन्त रहन मतदाताहरूलाई आश्वासन दिनुभएको छ।