जाडो छल्न लायन्स क्लबको पहल : सर्लाहीको धनकौलमा ४८ थान कम्बल वितरण

tejnewskhabar.com

सर्लाही, धनकौल | माघ १ लायन्स क्लब अफ जनकपुरधाम जानकीको आयोजनामा सर्लाही जिल्लाको धनकौलस्थित दलित बस्तीमा जाडोयामबाट बचाउने उद्देश्यसहित न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको औपचारिक शुभारम्भ नेपाली कांग्रेसका नेता तथा वरिष्ठ समाजसेवी बैजनाथ प्रसाद सिंहको करकमलबाट गरिएको हो। उक्त अवसरमा विपन्न, असहाय तथा दलित समुदायका ४८ परिवारलाई न्यानो कम्बल वितरण गरिएको लायन्स क्लबले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ समाजसेवी सिंहले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै लायन्स क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर रूपमा जनसेवामा समर्पित रहँदै आएको बताए। यस्ता मानवीय कार्यक्रमहरूले समाजमा आपसी सद्भाव, सहकार्य र मानवताको भावना अझ मजबुत बनाउने विश्वास पनि उनले व्यक्त गरे।

सिंहले यसअघि धनकौलमै ‘बैजनाथ आमा तथा बाल अस्पताल’ स्थापनाका लागि १२ कठ्ठा निजी जग्गा दान गरिसकेको जानकारी मधेश प्रदेश नेपाली कांग्रेसको सूचना तथा सञ्चार प्रचार–प्रसार विभागका सचिव निकेश त्रिपाठीले दिएका छन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा लायन्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। न्यानो कम्बल प्राप्त गरेका लाभग्राहीहरूले कठ्याङ्ग्रिने जाडोयाममा ठूलो राहत मिलेको भन्दै लायन्स क्लब अफ जनकपुरधाम जानकीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

लायन्स क्लब अफ जनकपुरधाम जानकीले आगामी दिनहरूमा पनि सामाजिक, मानवीय तथा सेवामुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायप्रति आफ्नो दायित्व निर्वाह गर्दै जाने प्रतिबद्धता जनाएको छ।



प्रतिक्रिया