सर्लाही–४ मा दिदी–भाइ आमनेसामने: भाइ एमालेबाट, दिदी स्वतन्त्र उम्मेदवार

tejnewskhabar.com

सर्लाही — सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा एउटै परिवारका दिदी र भाइ फरक–फरक हैसियतमा उम्मेदवार बनेपछि चुनावी माहोल रोचक बनेको छ। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्व सांसद शिवपुजन यादवका छोरा नेकपा एमालेबाट र छोरी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्।


शिवपुजन यादव हालै नेकपा एमालेमा प्रवेश गर्दै आफ्ना २७ वर्षीय छोरा अमनिश कुमार यादवलाई एमालेको तर्फबाट उम्मेदवार बनाएका छन् भने ३० वर्षीया छोरी मधुमाला कुमारी यादव स्वतन्त्र उम्मेदवार बनेकी छन्।


मधुमाला यादव यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारका रूपमा सहभागी भएकी थिइन्। सो निर्वाचनमा उनले १४ हजार ६२२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन्। यसपटक पनि उनले पुनः स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।


निर्वाचन आयोगले निर्वाचन खर्चको सीमा तोक्दै सीमित सवारी साधन प्रयोगलगायत कडाइका साथ आचारसंहिता लागू गरेपछि धेरै उम्मेदवारहरूले डम्मी उम्मेदवार खडा गरेको चर्चा पनि चलिरहेको छ।


सर्लाही–४ मा हाल ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, जनमत पार्टीबाट राकेशकुमार मिश्रलगायत प्रमुख उम्मेदवार रहेका छन्।



 

प्रतिक्रिया