मानवीयता र नेतृत्वको प्रेरणादायी उदाहरण

tejnewskhabar.com

जनकपुर १३ गते : मधेश प्रदेशका माननीय सभामुख श्री राम आशिष यादवज्यूले मानवीय संवेदनशीलता र जिम्मेवार नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँले मधेश प्रदेश सभा सचिवालयमा कार्यरत सबै सफाइकर्मीहरूलाई विशेष प्राथमिकतामा राख्दै उनीहरूको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि महत्वपूर्ण निर्देशन दिनुभएको हो।

सभामुख यादवज्यूले प्रदेश सभामा रहेको मेडिकल एकाइलाई सफाइकर्मीहरूको स्वास्थ्य नियमित रूपमा जाँच तथा निगरानी गर्न निर्देशन दिनुभएको छ। साथै, सरसफाइका क्रममा प्रयोग हुने युनिफर्म, ग्लोभ्स, मास्क, बुट, टोपी, एप्रोनलगायत आवश्यक सुरक्षात्मक सामग्रीको तत्काल व्यवस्था गर्न समेत स्पष्ट निर्देशन दिनुभएको छ।

यसका अतिरिक्त, उहाँले सफाइकर्मीहरूका छोरा–छोरीलाई विद्यालय भर्ना गराउने व्यवस्था मिलाउन, तथा एक जना सफाइकर्मीलाई उच्च शिक्षाका लागि कलेजसँग तत्काल समन्वय गर्न निर्देशन दिनु भएको छ। सचिवालय परिसरको सरसफाइलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा पनि उहाँले विशेष ध्यान दिनुभएको छ।

यो कदम केवल प्रशासनिक निर्णय मात्र नभई, नेतृत्व भनेको पद होइन—सेवा, सम्मान र मानवीय संवेदनशीलता हो भन्ने सशक्त सन्देश हो। सभामुख यादवज्यूको यो मानवीय सोच र सकारात्मक पहल सर्वत्र प्रशंसनीय छ। 


प्रतिक्रिया