काठमाडौँ, पुस २४ — नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको नामावली सार्वजनिक गरेको छ। पुस २३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार कुल १० जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार आवश्यक प्रक्रिया पूरा गरी सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ। समितिको निर्णयअनुसार बढुवा सिफारिस भएका अधिकृतहरूको विवरण सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको हो।
सार्वजनिक सूचीअनुसार बढुवाका लागि सिफारिस हुनेमा रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम केँडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेश सिंह थापा र सुबास चन्द्र बोहरा रहेका छन्।
सिफारिस सूचीमा उल्लेखित अधिकृतहरू नेपाल प्रहरीका विभिन्न महत्वपूर्ण निकाय तथा कार्यालयमा कार्यरत रहँदै आएका छन्। उनीहरूको हालको दरबन्दीमा विशेष सुरक्षा गण, विपद् व्यवस्थापन, मानव अधिकार शाखा, अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा, प्रदेश तथा जिल्ला प्रहरी कार्यालय लगायतका जिम्मेवारी समावेश छन्।
बढुवा समितिका सदस्य–सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीद्वारा हस्ताक्षरित उक्त सूची गृह मन्त्रालयमार्फत सार्वजनिक गरिएको हो। अब मन्त्रिपरिषद्बाट स्वीकृति भएपछि औपचारिक रूपमा बढुवा प्रक्रिया सम्पन्न हुने बताइएको छ।
नेपाल प्रहरी संगठनभित्र अनुभव, वरिष्ठता, कार्यसम्पादन मूल्यांकन र योग्यता आधारमा गरिएको यस बढुवा सिफारिसलाई संगठन सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।