काठमाडौँ १६ गते पुष : भारतको बिहार राज्यका विभिन्न स्थानबाट उद्धार गरिएका ७ जना नेपाली बालबालिकालाई आज मिति २०८२ साल पुस १६ गते एक कार्यक्रमका बीच उनीहरूको परिवार तथा अभिभावकको जिम्मा लगाइएको छ।
विभिन्न बहानामा भारत पुर्याइएका, घरबाट भागेका वा अलपत्र अवस्थामा फेला परेका ती बालबालिकाहरूलाई भारतीय सुरक्षा निकाय र स्थानीय प्रशासनको सहयोगमा उद्धार गरिएको हो। उद्धार कार्यमा विगत लामो समयदेखि मानव बेचबिखन तथा ओसारपसार विरुद्ध र अलपत्र बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था के.आई.एन. इण्डिया (KIN India) तथा नेपाल प्रहरीको संयुक्त पहल र समन्वय रहेको थियो।
उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायको उपस्थितिमा बालबालिकालाई सुरक्षित रूपमा नेपाल ल्याई अभिभावकको जिम्मा लगाइएको हो। कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले बालबालिकाको सुरक्षा, संरक्षण र पुनः एकीकरणमा निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
साथै, यस्ता घटनाको पुनरावृत्ति रोक्न सीमा क्षेत्रमा निगरानी कडा बनाउने, जनचेतना अभिवृद्धि गर्ने तथा बालबालिकाको संरक्षणमा समुदाय, परिवार र राज्यको साझा जिम्मेवारी हुने उल्लेख गरिएको छ।