नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक, भोलि मतदान विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापति बनाउने तयारी तीव्र

tejnewskhabar.com

काठमाडौं २९ गते नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। संस्थापन पक्षसँग सहमति जुट्न नसकेपछि पार्टीले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने निर्णय गर्दै निर्वाचन प्रक्रियालाई औपचारिक रूप दिएको हो।

तालिकाअनुसार भोलि नै मतदान हुने भएको छ। यससँगै पार्टीभित्रको आन्तरिक राजनीतिको केन्द्र विशेष महाधिवेशन बनेको छ। निर्वाचनमार्फत नेतृत्व चयन गर्ने निर्णयले कांग्रेस लोकतान्त्रिक अभ्यासतर्फ दृढताका साथ अघि बढेको सन्देश दिएको छ।

विशेष महाधिवेशनबाट महामन्त्री गगन कुमार थापालाई सभापति बनाउने तयारी समेत तीव्र बनेको छ। युवा पुस्ता, सुधारवादी धार र परिवर्तनको पक्षमा उभिएका नेताहरू गगन थापाको नेतृत्वमा कांग्रेसलाई पुनर्जागरणतर्फ लैजान सकिने विश्वासमा देखिएका छन्।

पार्टीभित्र विधि, प्रक्रिया र पारदर्शितामार्फत नेतृत्व चयन हुनुपर्ने माग बलियो बन्दै गएपछि निर्वाचन अपरिहार्य बनेको नेताहरूको भनाइ छ। गगन थापाको उम्मेदवारीलाई संगठन सुदृढीकरण, भ्रष्टाचारविरुद्धको अडान र पुस्तान्तरणको स्वाभाविक प्रक्रियाको रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार विशेष महाधिवेशन केवल नेतृत्व परिवर्तनको विषय मात्र नभई कांग्रेसको भावी दिशा, विचार र कार्यशैलीको निर्णायक मोड बन्नेछ। भोलिको मतदानले नेपाली कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र भविष्यको राजनीति कता जान्छ भन्ने स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।



प्रतिक्रिया