करदाता सेवा कार्यालय खारेजीविरुद्ध रौतहटमा तालाबन्दी, आन्दोलन चर्किंदै

tejnewskhabar.com

रौतहट, १७ गते गौर । नेपाल सरकारले रौतहट सदरमुकाम गौरस्थित करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयविरुद्ध रौतहटका उद्योगी–व्यवसायीले सुरु गरेको सर्वपक्षीय एवं सर्वदलीय आन्दोलन तेस्रो दिन बुधबार तालाबन्दीसहित चर्किएको छ।

नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथप्रसाद केसरीको नेतृत्वमा उद्योगी–व्यवसायीहरूले बुधबार करदाता सेवा कार्यालय गौरमा तालाबन्दी गरेका हुन्। गौरस्थित करदाता सेवा कार्यालयलाई बाराको सिमरामा स्थानान्तरण गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा नागरिक समाज, राजनीतिक दल तथा निर्माण व्यवसायी सङ्घले समेत समर्थन जनाएका छन्।

रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष रबिन्द्रनाथ गोपालीका अनुसार नागरिक समाजका अध्यक्ष केसरीको नेतृत्वमा आन्दोलनका कार्यक्रम अघि बढाइएका छन्। उहाँले शुक्रबारसम्म कार्यालयमा तालाबन्दी कायम रहने र त्यसपछि बजार बन्दसहित आन्दोलनका कार्यक्रम थप कडा बनाइने जानकारी दिनुभयो।

उद्योगी–व्यवसायीहरूले कार्यालयको आफ्नै भवन रहेको अवस्थामा करदाता सेवा कार्यालय खारेज गर्नु उचित नभएको भन्दै गौरमै आन्तरिक राजश्व कार्यालय स्थापना गर्न माग गरेका छन्।


प्रतिक्रिया