समुदाय प्रहरी साझेदारीमार्फत ३५० विद्यार्थी र युवालाई लागूऔषधको असर, कानुनी प्रावधान र नियन्त्रणमा भूमिका बारे प्रशिक्षण

tejnewskhabar.com

रौतहट, १० पुस २०८२ : समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय समस्यामा केन्द्रित भई अपराध तथा सुरक्षा चुनौतीका मूल कारण (Root Cause) पहिचान गर्ने उद्देश्यसहित रौतहट जिल्लामा “एक जिल्ला–एक समस्या” अवधारणाअनुसार लागूऔषध विरुद्ध अभियान सञ्चालन गरिएको छ।

बौधीमाई नगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त सहकार्यमा मिति २०८२/०९/१० गते दिउँसो १४:३० बजे बौधीमाई नगरपालिका वडा नं. ५ स्थित सामुदायिक भवनको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नगर उप–प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन कार्की, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बौधीमाई नगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालयमा अध्ययनरत विद्यार्थी तथा युवा वर्गलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा लागूऔषधले मानिसको शरीर, परिवार र समाजमा पार्ने नकारात्मक असर, लागूऔषधसम्बन्धी कानुनी प्रावधान तथा दण्ड–सजायका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

यसैगरी लागूऔषध ओसार–पसार, बिक्री–वितरण, सञ्चय, सेवन तथा तस्करी नियन्त्रणमा स्थानीय नागरिक, विद्यार्थी र युवाले निर्वाह गर्न सक्ने भूमिकाबारे समेत प्रकाश पार्दै सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा करिब ३५० जना विद्यार्थी, स्थानीय भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी तथा शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो।



प्रतिक्रिया