काठमाडौँ २६ गते । नेपाली कांग्रेसको भोलि आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा चहलपहल उल्लेख्य रूपमा बढेको छ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै देशभरबाट आएका महाधिवेशन प्रतिनिधि, पार्टी नेता तथा कार्यकर्ताहरू कार्यक्रमस्थल भृकुटीमण्डपतर्फ भेला भइरहेका छन्।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न कार्यक्रमस्थल सिंगार्ने काम, मञ्च व्यवस्थापन, ध्वनि तथा प्रकाश जडानलगायतका तयारी तीव्र रूपमा अघि बढाइएको छ। साथै, सम्भावित भीड व्यवस्थापन र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीको भावी दिशा, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।
२६ पुस २०८२, शनिवार ०७:२८ मा प्रकाशित