सिन्धुली — सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबीआई बैंकमा आज साँझ करिब ७:४५ बजे लुटपाट भएको छ। अज्ञात समूहले बैंक लुटी ३ करोड ११ लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ।
लुटपाटपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थलबाट करिब ३ किलोमिटर टाढा फेला परेको छ। त्यस्तै, नजिकैको जंगल क्षेत्रमा पैसाले भरिएको एक बोरा समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीहरूले लुटेराको खोजी तीव्र पारेका छन्। हालसम्म बरामद रकमको यकिन विवरण आउन बाँकी रहेको भए पनि लुटिएको कुल रकममध्ये एक भाग फेला परिसकेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरूलाई चाँडै नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
१ माघ २०८२, बुधबार ०४:५३ मा प्रकाशित