रौतहट, १९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका केन्द्रीय सदस्य कुन्दन कुशवाहाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
शनिबार गुजरा नगरपालिकामा सम्पन्न क्षेत्रीय कार्यकर्ता भेलाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कुशवाहाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो। भेलामा सहभागी पार्टीका नेता तथा कार्यकर्ताहरूले कुशवाहालाई संगठन सुदृढीकरण, जनसम्पर्क र राजनीतिक अनुभवका आधारमा उपयुक्त उम्मेदवार भएको बताएका थिए।
कार्यकर्ता भेलामा एमालेका जिल्ला तथा क्षेत्रीय तहका पदाधिकारी, जनप्रतिनिधि र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन मजबुत बनाउने, जनताको बीचमा पार्टीको एजेन्डा पुर्याउने र विजय सुनिश्चित गर्ने विषयमा समेत छलफल गरिएको थियो।
पार्टी स्रोतका अनुसार क्षेत्रीय समितिबाट सिफारिस गरिएको नाम अब प्रदेश र केन्द्रीय कमिटीमा पठाइनेछ। अन्तिम उम्मेदवार चयन भने पार्टीको केन्द्रीय निर्णयअनुसार हुने जनाइएको छ।