राष्ट्रिय अपाङ्ग महासङ्घ मधेस प्रदेशको अध्यक्षमा राजेश साहको उम्मेदवारी घोषणा

tejnewskhabar.com

रौतहट १३ गते पुष : विगत लामो समयदेखि अपाङ्गता क्षेत्रमा सक्रिय रहँदै अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकारका लागि निरन्तर वकालत तथा पैरवी गर्दै आउनुभएका अपाङ्गता अधिकार अभियन्ता श्री राजेश साहले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, मधेस प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

उहाँले यही मिति २०८२ साल मंसिर १८ र १९ गते रौतहट जिल्लाको चन्द्रपुरमा आयोजना हुने छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनमार्फत अध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने जानकारी दिनुभएको हो।

यसअघि उहाँ राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, मधेस प्रदेशको सचिवको जिम्मेवारीमा रहँदै प्रदेशस्तरमा आबद्ध संस्थाहरूको संस्था विकास, संगठन सुदृढीकरण तथा आपसी समन्वयमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको थियो। उहाँको सक्रियताले महासङ्घसँग आबद्ध मधेस प्रदेशका विभिन्न संस्थाहरू सशक्त बन्दै गएको बताइन्छ।

अध्यक्ष पदमा निर्वाचित भएमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, समावेशी तथा व्यवहारिक नीति निर्माण, संस्थागत सुशासन र संगठनलाई अझ मजबुत बनाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

यस अवसरमा महासङ्घसँग आबद्ध मधेस प्रदेशका सम्पूर्ण प्रतिनिधि तथा मतदाताहरूसमक्ष श्री साहलाई आफ्नो अमूल्य मत प्रदान गरी भारी मतले विजयी बनाउन हार्दिक अनुरोध गरिएको छ।



प्रतिक्रिया